Tuesday, December 21, 2010

म कहाँ खोजुँ त

म कहाँ खोजुँ त मेरी उनिलाई जब यो दुनियांमै छैनन
मेरो विश्वास अझै छ मलाई उनले धोका दिएकि हैनन ।

म आफैंमा आज हराएछु बेहोसीमा कराएछु
सपनीमा हो कि बिपनीमा उनलाई नै पाएछु
कस्ले भन्छ उनले म संग अब माया साट्ने छैनन
मेरो विश्वास अझै छ मलाई उनले धोका दिएकि हैनन ।

मेरो आँखा हो उनको प्रवेशद्वार मुटु हो बस्ने ठाउँ
चाहिन्न उनलाई यि बाहेक अब यो सहर यो गाउँ
कस्ले भन्छ उनले म संग अब रात काट्ने छैनन
मेरो विश्वास अझै छ मलाई उनले धोका दिएकि हैनन ।

मेरो नेपाल

मेरो नेपाल मेरो नेपाल
गौरव गर्दै छाती खोली भन्छु मेरो नेपाल
सुन्दर छ , शान्त छ अनि छ विशाल
मेरो नेपाल मेरो नेपाल ।

मुस्कुराउंदै मेरो हिमाल हिउँको गीत गुन्गुनाउंछ
पहाडभरी भमराले गुराँसमा भुन्भुनाउंछ
सुनकै मुद्रा बनि अन्न तराईमा छुन्छुनाउंछ
मेरो नेपाल मेरो नेपाल ।

अमृतको धारासरी हिउँचुलीको पानी झारी
झरना छाँगा खोला हाँस्छन यो देशलाई स्वर्ग पारी
शान्तीको हावा चल्दा हिंसा भाग्छ हिम्मत हारी
मेरो नेपाल मेरो नेपाल ।

रहरहरु मनभित्रका

रहरहरु मनभित्रका मारिदिउं जस्तै लाग्दछ
मलाई किन जिन्दगानी यो हारीदिउं जस्तै लाग्दछ ।

निश्ठुरीलाई सम्झिएर रोई बसेको छु
पिरहरु आँशु झारी धोई बसेको छु
आफ्नै आँगन आज मलाई मसानघाट जस्तै लाग्दछ
मलाई किन जिन्दगानी यो हारीदिउं जस्तै लाग्दछ ।

बादलुमा चम्किदिने बिजुली हो माया
छिनभरमै अल्पिदिने उज्यालो हो माया
आफ्नै जीवन आज मलाई बगर भो जस्तै लाग्दछ
मलाई किन जिन्दगानी यो हारीदिउं जस्तै लाग्दछ ।

गोरेटोमा कतै फेरी

गोरेटोमा कतै फेरी तिम्रो साथ पाए हुन्थ्यो
लड्दाखेरी समाउन तिम्रै हात पाए हुन्थ्यो ।

पानी हो कि जीवन मेरो किन आकार छैन कतै
धुँवा हो कि सपना मेरो किन साकार भएन कुनै
यो आँखाको आँशु पुछ्न फेरी तिमी आए हुन्थ्यो
लड्दाखेरी समाउन तिम्रै हात पाए हुन्थ्यो ।

कहाँ झर्यो खुशी मेरो खोज्न जाउँ कतातिर
पुग्न पाए हुन्थ्यो बरु खुशी खोज्दै तिमीनेर
बेदनाको आँधी छेल्न फेरी तिमी आए हुन्थ्यो
लड्दाखेरी समाउन तिम्रै हात पाए हुन्थ्यो ।

यहाँ औंशीको रात हुन्छ

यहाँ औंशीको रात हुन्छ
यो मन त्यसै त्यसै रुन्छ
निष्ठुरीलाई अझै पनि
आँखाभरी देखुँ भन्छ ।

कति फूल झरे हातमाथी
कति आँशु झरे पातमाथी
चुम्दा चुम्दै सम्झनालाई
कति दिन चढे रातमाथी ।

मेरा करोढ पुकारहरुले
फर्काएर ल्याएन उसलाई
यादै यादमा बाँच्नेहरुले
ब्यर्थै दोष दिनु कस्लाई ?

मुटु त छ म संग

मुटु त छ म संग माया रित्तिएको
दियालो हुँ म त तेल नै सिध्धीएको
नराख म बाट उज्यालोको आशा
सक्दिनं म दिन प्रेमको परिभाषा ।

थाके पनि पाईलाहरु म त हिंड्दै नै छु
बाँचें भन्ने भ्रमभित्र म त मुर्दा भै छु
जिन्दगीमा खाली मैले पाएछु निराशा
सक्दिनं म दिन प्रेमको परिभाषा ।

अचानो भो छाती मेरो चोट सहिदिने
चिच्याउं त सबै मेरो ओठ थुनिदिने
दुनियाँबाट के नै मैले गर्नु अब आशा
सक्दिनं म दिन प्रेमको परिभाषा ।

हार्नु त केहि हैन

हार्नु त केहि हैन जित्नु जीवनमा साह्रो
मर्नु त केहि हैन बाँच्नु रहेछ गाह्रो
बुझेपछी जिन्दगीले अलमल्ल पार्यो
लौ न अलमल्ल पार्यो ।

ओभानोमा पाईला टेकें गाडीएछ भासभित्र
आधीपाटै जिन्दगी यो छाडीएछ आसभित्र
मर्नु त केहि हैन बाँच्नु रहेछ गाह्रो
ब्याथा सम्झी जिन्दगीले फेरी आँशु झार्यो
लौ न फेरी आँशु झार्यो ।

पिरतीको कथा मेरो गीत संगै उनिएछ
जिन्दगीलाई फसाउने आफैं जालो बुनिएछ
मर्नु त केहि हैन बाँच्नु रहेछ गाह्रो
जीत ठानी जिन्दगीले जानीजानी हार्यो
लौ न जानीजानी हार्यो ।

खुशी त कहाँ

खुशी त कहाँ जित्न सकिन्छ जिन्दगी हारेर
मनको सँघार नाघेर गयौ मन रित्तै पारेर ।

उजाड मनमा चल्दछ आँधी सपना उडाउछ
छाती भित्र नि बल्दछ आगो कलेजो डढाउछ
निर्मोही माया बिलाई कहाँ सम्झना छोडेर
मर्नु न बाँच्नु बनाई मनमा भाला नै रोपेर ।

बिर्षन पनि सकिन उसलाई सम्झिँदा रुवाउने
भिजेको चुल्हो झैँ भयो यो जीवन सधैं नै धुवाउने
निस्ठुरी गई छाडेर मलाई भुत्तुक्कै पारेर
आँशुको होली खेल्दै छु म त जिन्दगी हारेर ।

आँधी आई

आँधी आई त्यो रात मेरो सपना उडाईदियो
भेलबाढी आई त्यही रात मेरो जिन्दगी बगाईदियो ।

बगेर जीवन बगरभरी छरिएछ जताततै
माया गरेर यस्लाई बटुल्न कस्ले सघाईदियो
कुल्चेर सयौँ पाईलाहरुले दुखेको मेरो जीवनमा
कस्को मायालु हातहरुले मल्हम लगाई दियो ।

अनिंदो बितेका धेरै रातपछी अचानक आजैराती
आँखामा बसेर सपनाको कस्ले महल सजाईदियो
छिनेथ्यो हृदयका सारा तारहरु मनको मेरो सारङ्गी
मर्मत गरेर कस्ले अपूर्व यो धून बजाईदियो ।